दफा ३८
ढुवानी गरिने मालसामानको विवरणपत्र पेश गर्नु पर्ने
(१) रेलबाट मालसामान ढुवानी गर्न चाहने प्रेषकले बोर्डद्वारा निर्धारित ढाँचामा विवरणपत्र भरी सम्बन्धित स्टेशन प्रमुख समक्ष पेश गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको विवरणपत्र प्रेषकले स्पष्टरूपमा भर्नु पर्नेछ र स्पष्टरूपमा विवरणपत्र नभरेको कारणबाट उत्पन्न हुने परिणामप्रति बोर्ड जवाफदेही हुने छैन।

(३) उपदफा (१) बमोजिम विवरणपत्रमा उल्लेख गरेका मालसामान दुरुस्त भए वा नभएको सम्बन्धमा स्टेशन प्रमुखले प्रेषकको रोहबरमा तत्काल जाँचबुझ गर्नु, गराउनु पर्नेछ।

(४) उपदफा (३) बमोजिम जाँचबुझ गर्दा कुनै मालसामान निषेधित हो वा होइन भन्ने विषयमा शङ्का उत्पन्न भएमा स्टेशन प्रमुखले त्यस्तो मालसामानको परीक्षण गर्नको लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ र त्यसरी परीक्षण गर्दा लागेको खर्च प्रेषकले व्यहोर्नु पर्नेछ।

(५) उपदफा (४) बमोजिम परीक्षण गर्दा कुनै मालसामान निषेधित मालसामान भएको प्रमाणित भएमा स्टेशन प्रमुखले सम्बन्धित व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाहीको लागि सो मालसामान- सहित सम्बन्धित निकायको जिम्मा लगाउनु पर्नेछ।